बेनी–जोमसोम सडकमा सवारी साधनहरु गुड्न थालेसंगै हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित पवित्र धार्मिकस्थल मुक्तिनाथमा आन्तरिक पर्यटकहरुको उत्साहजनक वृद्धि भएको छ । तर पर्याप्त जानकारीको अभावका कारण प्राय यात्रीहरु जोमसोम, मुक्तिनाथ र कागबेनीको मात्रै सम्झना संगालेर आउने गर्छन् । बढिमा झारकोट गाउँ थपिन्छ कसैकसैको सूचीमा । जोमसोम वरपर छोटो समयमा घुम्न सकिने केहि ठाउँहरुको यहाँ चर्चा गर्न खोजिएको छ ।
जोमसोम बजारबाट एक घण्टाको पैदल दूरीमा सुन्दर ’धुम्बा ताल’ छ भन्ने कुरा थोरैलाई मात्र थाहा होला । जोमसोमको दक्षिण–पश्चिमतिर अवस्थित धुम्बा ताल आकारमा सानो भएर पनि मनमोहक छ । गर्मी याममा टाढा–टाढाबाट आउने आगन्तुक चराहरुले तालको रौनक अझ बढाउँछन्।
 |
धुम्बा ताल |
थिनी जोमसोमबाट आधा घण्टाको दूरीमा रहेको रमणीय गाउँ हो । थकाली जातिको बाहुल्यता रहेको यो गाउँको स्वरुप परम्परागत छ । यहाँ बोन्पो धर्मसँग सम्बन्धित नेपालका पुराना मध्येको एउटा गुम्बा पनि हेर्न सकिन्छ ।
 |
थिनी गाउँ |
गाउँबाट करिब दुई घण्टा माथि रहेको ओबांग डाँडाबाट निलगिरी, धौलागिरी र माना–पाथी हिमालहरु लहरै देखिन्छन् ।
 |
ओबांग डाँडाबाट देखिएको धौलागिरी हिमाल
 |
ओबांग डाँडाबाट देखिएको माना–पाथी हिमाल
 |
ओबांग डाँडाबाट देखिएको निलगिरी हिमाल
|
|
जोमसोमतिरबाट मनाङ जिल्लामा अवस्थित तिलिचो ताल जाने बाटो पनि थिनी गाउँ भएरै जान्छ । थिनी गाउँबाट तिलिचो ताल पुग्न करिब साढे एक दिन लाग्ने स्थानीय बासिन्दाहरु बताउँछन् |
जोमसोमबाट उतर–पूर्व करिब तीन घण्टाको दूरीमा लुप्रा गाउँ रहेको छ । मुक्तिनाथ गाबिसको मौलिक गुरुङ गाउँ हो लुप्रा । बोन्पो धर्मसँग सम्बन्धित गुम्बा यहाँ पनि छ ।
 |
लुप्रा गाउँ |
यहाँ लामाहरुले ध्यान गर्ने प्राकृतिक गुफा पनि अवलोकन गर्न सकिन्छ । साँझ–बिहान गाउँ नजिकैको पहरामा नाउरहरु चरिरहेको चित्ताकर्षक दृश्य देखिन्छ ।
 |
लुप्राको भिरमा चरिरहेका नाउरहरु |
मोटरबाटोका कारण अन्तराष्ट्रिय पदयात्रा पर्यटकहरु घट्न थालेपछि बनेको बैकल्पिक पदयात्रा मार्गमा थोरङला काटेर मुक्तिनाथ झरिसकेपछि जोमसोम आउन लुप्रा गाउँ भएर आउनुपर्छ । लुप्रा गाउँ र मुक्तिनाथ मन्दिरबीच करिब तीन घण्टाको दूरी छ ।
No comments:
Post a Comment